३८ विद्यालयका प्रअलाई बालविकास सम्बन्धी तालिम

दैलेखमा रहेका ३८ विद्यालयका प्रअलाई प्रारम्भिक बालविकास सम्बन्धी तालिम प्रदान गरिएको छ ।
दैलेखका अधिकाँस विद्यालयहरुमा पठनपाठन गर्दै आएका बालबालिकाहरुलाई नियमित विद्यालय कसरी उपस्थिती गराउने, प्रारम्भिक बालविकासका सकारात्मक पक्ष, बाल केन्द्रीत सिकाई, नेपालमा भएको बालविकास सम्वन्धी नीतिगत व्यवस्था र प्रावधानहरु, प्रारम्भिक सिकाई तथा विकास प्रगति विवरणमा आधारित निर्माणात्मक मूल्याङ्कन स्रोत पुस्तिको प्रयोग विधि, कक्षा १ मा प्राधानाध्यापकहरुको जिम्मेवारी तथा भूमिका कस्तो हुने, न्यूनतम मापदण्ड, बिशेष क्षमता भएका बालबालिका, अपाङ्गता भएका बालबालिकाको सुरक्षा र पाठ्यक्रमको बारेमा तालिममा सहभागी शिक्षकहरुलाई जानकारी गराईएको थियो ।
तालिम पश्चात प्रअहरुले बालविकास केन्द्रका बालबालिकाहरुको न्यूनतम मापदण्ड पूरा गर्ने, अभिभावकहरुसँग दुई महिनाको एकपटक छलफल र बहस गर्ने, पोषणयुक्त दिवा खाजाको व्यवस्थापन गर्ने, बाल विकास र कक्षा १ का विद्यार्थीहरुका लागि बालमैत्री वसाइ व्यवस्थापन गर्ने लगायतका बिभिन्न नौ वटा बँुदामा प्रतिबद्धता जनाएका छन् ।
तालिमको सहजिकरण सेतो गुराँस बालविकास सेवा दैलेखका कार्यकारी निर्देशक राधा मल्ल, नारायण नगरपालिका शिक्षा शाखा प्रमुख पूर्ण प्रसाद उपाध्याय, सेतो गुराँसका अधिकृत ललि बारघरेले गरेका थिए ।
तालिम पश्चात जनता आधारभूत विद्यालयका प्र.अ. मेनका गौतमले एकीकृत पाठ्यक्रमका बारेमा विद्यालयमा छलफल हुने गरेको भएपनि बालविकासको बारेमा गहिरो अध्ययन गर्ने अवसर तालिममा प्राप्त भएको र आगामी दिनहरुमा यसलाई हुवहु लागू गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार